काठमाडौँ । सूर्य चिन्हबाट निर्वाचित नवलपरासीका स्वतन्त्र सांसद् अजय शाही लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।
मुख्यमन्त्री कुलप्रसाद केसीले गत साउन २८ गते विस्तार गरेको मन्त्रिपरिषद्मा शाही बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए ।
शुक्रबार मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
यसैगरी प्रदेश प्रमुख शेरचनले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन समेत गरेका छन् । जसअनुसार कुलप्रसाद केसी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेका छन् ।
यस्तै, डिल्लबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्रालय, सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्रालय र अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेका छन् ।
सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा बिनाविभागीय मन्त्री छन् ।