नेपाल भारतसँग बराबरी रोकियो

168

काठमाडौँ । नेपाल र भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

नेपालको लागि अञ्जन विष्टले गोल गर्दा भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गरे ।

खेलमा अग्रता भने नेपालले बनायो । नेपालका अञ्जन विष्टले खेलको ३६ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

भारतका डिफेन्डर चिङ्लेन्साना सिङ कोन्साम र गोलकिपर गुरप्रीत सिंहको समन्वय अभावमा अञ्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् ।

दोस्रो हाफको ६१ मिनेटमा भारतका अनिरुद्ध थापाले खेल बराबरीमा पुर्‍याए । भारतका कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको बल नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पञ्च गरे पनि गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन् ।

पहिलो हाफमा नेपालले गोलसँगै बल पोजिसनमा समेत पकड जमाएको थियो । भारतले पहिलो हाफमा कुनै पनि अवसर बनाउन सकेन । नेपालले भने दुई अवसर बनायो ।

यता, दोस्रो हाफमा भने भारतले सुरुवातमै तीन खेलाडी परिवर्तन गर्दै खेल आफ्नो नियन्त्रणमा लियो । बाँकी समयमा दुवै टोलीले अवसर बनाए पनि कुनै गोल हुन सकेन ।

खेलमा नेपालका नितिन थापाले डेब्यु गरे । च्यासल क्लब र पोखरा थन्डर्सबाट खेलेका नितिनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलको ८५ मिनेटमा तेज तामाङको स्थानमा मैदानमा पठाएका हुन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...