‘हेड टु हेड’ : नेपालविरुद्ध भारत हाबी

281

काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबलको पहिलो खेल आज हुँदै छ । खेल आज साँझ साढे ५ बजे सुरु हुने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अल इन्डियन फुटबल फेडेरेसन (एआइएफएफ)ले मैत्रीपूर्ण दुई खेलको लागि प्रस्ताव गरेको थियो ।

खेलअघि काठमाडौँमा बुधबार आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा दुई टिम (नेपाल र भारत)का प्रशिक्षक तथा कप्तानहरुले निकै मेहनतका साथ खेल खेल्ने बताएका छन् ।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग पुग्ने बताएका थिए भने भारतका कप्तान सुनिल क्षेत्रीले नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारत पनि सजक रहेको बताए । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने क्षेत्रीले बताएका थिए ।

हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले २ खेलमात्रै जितेको छ । ४ खेलमा बराबरी भएको छ ।

भारतले ३३ गोल गर्दा नेपालले ९ गोल मात्रै गरेको छ ।

नेपाल र भारतले पहिलोपटक सन् १९८५ डिसेम्बर २० मा एक अर्काविरुद्ध खेलेका थिए । जुन खेल गोलविहीन बराबरी भएको थियो । त्यसको भोलिपल्ट पुनः भिड्दा भारतले खेल २–० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।

दुई टोलीले अन्तिम पटक सन् २०१७ को जुन ६ मा भिडेका थिए । भारतको मुम्बइ फुटबल एरिनामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले अन्तिम पटक घरेलु मैदानमा भारतसँग सन् २०१५ मार्च १७ मा खेलेको थियो । फिफा विश्वकप छनोटको लागि भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

नेपाल र भारतबीचको खेलमा सर्वाधिक गोलकर्ता भारतीय टोलीका कप्तान सुनिल क्षेत्री रहेका छन् । उनले ८ खेल खेल्दै ५ गोल गरेका छन् । यस्तै आइएम विजयन र कार्लटन चापम्यानले समान ३ गोल गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...