काठमाडौँ । दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराति घोराही–लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले बगाएको हो ।
घोराही उपमहानगरपालिका–४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गएराति १० बजेर ५० मिनेटमा बगाएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामबहदुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चारजना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
खोलामा आएको बाढीले कार बगाउँदा चालक घोराही–१५ निवासी ४३ वर्षीय नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अवस्थामा प्रहरीले फेला पारी उद्धार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले खोलाले कार बगाउँदा घोराही उपमहानगरपालिका–१३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१५ की ३३ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जानकारी दिए ।
खोलाले बगाएकाहरुको शव झन्डै ३ किलोमिटर तल घोराही–१७ बेलभार भन्ने ठाउँमा फेला पारिएको छ । उनीहरुमध्ये दुई जना चालकका आफन्त हुन् ।
शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिदएको छ ।