काठमाडौं । नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
एमालेले अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्यहरुको विवरणलाई आयोगले मान्यता नदिएर माधवकुमार नेपाललाई पार्टी विभाजनमा सजिलो पारेको र सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसद्लाई पदमुक्त नगरेको भन्दै एमाले सर्वोच्च जान लागेको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्ध सर्वोच्च अदालत जान लागेको पुष्टि गरे ।
शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमालेले जनाएको छ ।
एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्तको निर्णय गरेको थियो ।
एमालेले कारबाही गरेका १४ सांसद्सहित ३० सांसद् र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो ।