काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सहजीकरण गरिदिन पत्र लेखेका छन् ।
नेपाल सरकारले नुवाकोटको सिसडोल (बञ्चरेडाँडा)मा बनाइरहेको ल्यान्डफिल्ड साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहोर व्यवस्थापन गर्न कठिन भएको भन्दै शाक्यले बाटो बनाइदिन प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।
“नेपाल सरकारबाट काठमाडौं उपत्यकाको फोहरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरेडाँडा स्यानीटी ल्यान्डफिल्ड साइटको अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र त्यो ल्यान्डफिल्ड साइटमा पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेको कारण उपत्यकाको फोहरमैला व्यवसथापनमा अवरोध पुगेको छ । यस अवस्थामा तत्काल बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट र त्यो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण गरिदिनुहुन अनुरोध गर्दछु,” महानगरपालिकाका प्रमुख शाक्यले पत्रमा लेखेका छन् ।
अहिले काठमाडौं महानगरपालिकाबाहेक २० भन्दा पालिकाबाट उत्सर्जन हुने फोहोरको अन्तिम जिम्मेवारी काठमाडौं महानगरपालिकाबाट हुँदै आएको छ ।