बाबु र श्रीमतीको हत्या अभियोगमा युवक पक्राउ

301

जनकपुरधाम । धनुषामा आफ्नै बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको मिथिलाबिहारी नगरपालिका–५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिका देवी मण्डलको हत्या गरेका हुन् । ससुरा र बुहारबीच अनैतिक सम्बन्ध रहेको आशंकामा भागेश्वरले दुवैको हत्या गरी घरनजिकको झाडीमा खाल्डो खनेर गाडेका थिए ।

भागेश्वरले सोमबार मध्यराति लाठी र डोरीले दुवैको घाँटी च्यापेर हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार बिहान स्थानीयले नजिकैको आँपको बगैचामा खाल्डो खनेर पुरिएको देखेपटि प्रहरीलाई खबर गरेका थिए । घटनापश्चात भागेश्वरलाई पक्राउ गरी सोधपुछ गर्दा उनले घटना गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

दुवै शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आएका थिए ।

भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।

अभियुक्त भागेश्वरलाई हिरासतमा लिइ घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोज कुमार बस्नेतले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...