काठमाडौं । छ वटा किसान संगठनहरुले उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता तत्काल उपलब्ध गराउन माग गरेका छन् ।
आइतबार संयुक्ति विज्ञप्ति निकाल्दै उद्योगीहरुले वर्षौँसम्म भुक्तानी नदिएर गरिब किसानहलाई समस्यामा पारेको भन्दै किसान संगठनहरुले तत्काल भुक्तानीको व्यवस्था मिलाउन भनेको छ ।
यसअघि उखु किसानहरुले भुक्तानी माग्दै आन्दोलन गर्दा सरकारले समय नै तोकेर उखुको बक्यौता रकम दिने बताएको भए पनि अझै धेरै किसानहरुले रकम नपाएको विज्ञप्तिमा उल्लेख छ ।
“विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन । किसानहरू जिल्ल परे । परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेकोछ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ । तसर्थ वर्तमान सरकारले ओली सरकारलेजस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जानासमेत) एकमुष्ठ रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न/गराउन हामी किसान संगठनहरू जोड्दार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
यसअघिको सरकारले जस्तो किसानको बक्यौता तिराउन आनाकानी गरेमा सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिँदै किसानको पसिनाको मूल्य उद्योगीबाट तिराउन विज्ञप्तिमा भनिएको छ ।