सरकारले सबै नागरिकलाई समयमै खोप लगाउँछ : अर्थमन्त्री शर्मा

154

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उनले खोप लगाउन बाँकी व्यक्तिलाई समयमै खोप प्रदान गरी जनजीवनको रक्षा एवम् अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारको पहिलो जिम्मेवारी भएको बताए ।

अर्थमन्त्री शर्माले कोभिड महामारीको पीडा भोगिरहेको जनजीवन र सोबाट सिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी नेपाली जनजीवनमा सकरात्मक परिवर्तन र समृद्धि ल्याउनमा वर्तमान सरकारको प्रयास केन्द्रित रहेको स्पष्ट पारे ।

सबै नागरिकलाई खोप दिएर मात्र कोरोना नियन्त्रण हुने स्पष्ट आधार देखिएको भन्दै उनले खोप खरिदका लागि बजेट अभाव हुन नदिने पनि प्रतिबद्धता जनाए । उनले भने,“खोप खरिदका लागि म अर्थमन्त्री भएकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेट निकासा गरेको छु । अहिले पनि नियमित छलफलमै छु । जे–जति बजेट लाग्छ त्यो दिन अर्थ मन्त्रालय तयार छ । स्वास्थ्य मन्त्रालयले अनुमति पाइ पनि सकेको छ, सरकारले स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिनेछैन ।”

अर्थमन्त्री शर्माले कोभिड महामारीमा सिर्जित जनस्वास्थ्यमाथिको इतिहासकै गम्भीर संकटपूर्ण अवस्था तथा मुलुकको अर्थतन्त्रले भोगिरहेको प्रतिकूल परिस्थितिकाबीच वर्तमान सरकारले कार्यभार सम्हालेको भन्दै यतिबेला सरकारको पहिलो कर्तव्य नै सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराइ जनस्वास्थ्यको रक्षा गर्नु र थप राहत र पुनःस्थापना कार्यक्रम एवम् नीतिगत सुधारको माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्नु रहेको बताए ।

अर्थमन्त्री शर्माका अनुसार पहिलो मात्रा खोप लगाइसकेका करिब १३ लाख नागरिक लामो समयदेखि दोस्रो खोपको पर्खाइमा रहेका छन् । विसं २०७८ असार मसान्तसम्म २६ लाख ७९ हजार ८११ जनाले कोभिड–१९ महामारीविरुद्धको खोपको पहिलो र ११ लाख १२ हजार १६६ जनाले दोस्रो मात्रा लगाइसकेकामा यही साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म करिब एक करोड मात्रा खोप नेपाल भित्रिइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...