किशोर किशोरीका लागि फाइजर र मोर्डेना खोप ल्याउँदैछौँ : राज्यमन्त्री श्रेष्ठ

377

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किशोर किशोरीका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमितरुपमा पठनपाठन रोकिएकाले त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए ।

हालसम्म १ करोड ८ लाख ६० हजार १७० मात्र खोप प्राप्त भएको र ३ करोड ३६ लाख खोपको मात्रा आउने प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले बताए । उनले माघ मसान्तसम्म २ करोड २३ लाख थप खोप प्राप्त हुने बताउँदै माघसम्म कुल ५ करोड २३ लाख खोप पुग्ने बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालमा ९७ लाख डोज खोप आएको र ४२ लाख नागरिकलाई लगाइएकोमा अहिले सरकारले थप ७५ लाख डोज खोप लगाएको राज्यमन्त्री श्रेष्ठले बताए । असोज मसान्तसम्म १ करोड ८ लाख डोज खोप प्राप्त हुने छ । ३३ प्रतिशत नागरिकलाई खोप लगाउने योजना र लक्ष्य रहेको राज्यमन्त्री श्रेष्ठले बताए ।

हालसम्म ४५ लाख ७० हजार ५५३ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने २८ लाख ८८ हजार ३६९ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । भेरोसेल खोप ९ लाख डोज, अस्ट्राजेनिका ११ लाख ५० हजार मात्रा र जोन्सन २१ हजार डोज गरी २० लाख ७१ हजार डोज खोप स्थानीय तहमा भण्डारणमा रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...