दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्छौँ :ऊर्जामन्त्री भुसाल

520

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताएकी छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्तअन्तर्गत गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउनका लागिएको जानकारी दिइन् ।

नेपाल विद्युत् प्राधिकरण र सामुदायिक ऊर्जा उत्पादनका गरी २६ लाख भन्दा बढी ग्राहकले यस्तो सुविधा पाउने छन् ।

सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वादेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने नीति सारेको उनले बताइन् ।

प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अघि बढाउने तथा प्रदेश २ मा सोलार आयोजना निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । ऊर्जामन्त्री भुसालले भनिन्,“तमोर ७५६ मेगावाट, दूधकोसी ६३५ मेगावाट, सुनकोसी–३ ५३६ मेगावाट, बूढीगण्डकी १२०० मेगावाट, नाल्सिङगाढ ४१० मेगावाट, नौमुरे २४५ मेगावाट, माडी दाङ डाइभर्सनपश्चिम सेती ७५० मेगावाट उत्पादन हुने छ ।”

उनले निर्माणाधीन रसुवागढी १११ मेगावाट, साञ्जेन ५७ मेगावाट, मध्यभोटेकोसी १०२ मेगावाट, त्रिशूली–३ बी ३७ मेगावाट, राहुघाट ४० मेगावाट, तनहुँ सेती १४० मेगावाट निर्माणलाई तीव्रता प्रदान गरिने बताइन् ।

सरकारले राष्ट्रिय प्रसारण लाइन नपुगेको क्षेत्रमा विद्युतीकरण गर्न वैकल्पिक ऊर्जा प्रणाली जडान गरिने तथा वितरण लाइन र सबस्टेसनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने कार्यक्रम अघि सारेको छ ।

सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने तथा स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्ने, सबस्टेसन अटोमेसनलाई अघि बढाउने नीति अघि सारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...