संरक्षणमुखी विकास नै दीगो विकासको आधार : मन्त्री थापा

366

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापाले अहिलेको आवश्यकता भनेको संरक्षणमुखी विकास भएको बताएका छन् । ४७औँ भू–संरक्षण दिवसका अवसरमा शुभकामना दिँदै थापाले नेपालको सन्दर्भमा संरक्षणमुखी विकास नै दीगो विकासको आधार भएको बताएका हुन् ।

मन्त्री थापाले गत वर्षको वर्षायामको करिब ४ महिनाको अवधिमा मात्र गण्डकी प्रदेशमा बेपत्ता २४ जना समेत १५१ जना मानिसहरुको बाढी र पहिरोका कारण अकालमा ज्यान गएको र यस वर्ष पनि श्रावण २३ गतेसम्मको तथ्याङ्क हेर्दा मुलुकभर बाढी तथा पहिरोले १०५ जनाको अकालमा ज्यान गएको जानकारी दिए ।

बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमीनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले विसं. २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको र जिल्लास्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभाग स्थापना भएको श्रावण २४ गतेलाई “भू–संरक्षण दिवस” को रुपमा मनाउने गरिएको पाइन्छ ।

‘यस परिप्रेक्ष्यमा बाढी, पहिरोका हिसाबले उच्च जोखिममा रहेको हाम्रो प्रदेशमा भू–संरक्षणको आवश्यकता र महत्व अधिक छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालयको मौजुदा संगठनलाई विस्तार गरी सबै जिल्लाहरुमा कार्यालय स्थापना गरी नजिकबाट सेवा प्रवाह गर्ने सोच बनाएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

अव्यवस्थित नदि उत्खनन, अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरित जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्यहरु, वन जंगलको विनाश, जनचेतनाको कमी आदि मानवीय कारणहरु समेतले गर्दा नेपालका गाउँ बस्ती र कतिपय सहर बजारसमेत हरेक वर्ष बाढी र पहिरोको चपेटामा परी सयौंको ज्यान जाने र अरबौँको भौतिक पूर्वाधार तथा सम्पत्तिको क्षति हुँदै आएको उनले बताए ।

विज्ञप्तिमा ‘नेपालको भिरालो भूवनोटमा बसोबास गर्ने अधिकांस जनताको जीवन प्रणालीसँग जलाधारीय श्रोतहरू (५ज) (जमिन, जल, जंगल, जनावर र जनता) जोडिएका छन् । यी श्रोतहरूको संरक्षण र व्यवस्थापन नै जलाधार व्यवस्थापन हो । त्यसैले संरक्षणमुखी विकास नेपालको दिगो विकासको आधार भएकोले विकाश र संरक्षणलाइ समनान्तर रुपमा अगाडि बढाउन सम्पूर्णलाई आग्रह गर्दछु ।’ भनिएको छ ।

यसका साथै उनी आइतबार भू–संरक्षण दिवसकै अवसरमा वातावरण बृहत जलाधार व्यवस्थापन केन्द्र कास्की, भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागि भए ।

Share This:
सम्बन्धित खबर
Loading...