काठमाडौं । परीक्षा अनियमितता गरेको पुष्टि भएका शिक्षा सेवाका अवकासप्राप्त सहसचिव डा.डिल्लीराम रिमाललाई सरकारले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गत पुसमा भएको सिफारिसलाई गत मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेको हो । अख्तियारले समेत परीक्षामा अनियमितता गरेको भनेर दोषी ठहर गरेका उनले बुधबार आयोगमा पदभारसमेत ग्रहण ग्रहण गरिसकेका छन् ।
अस्तियारले गरेको छानबिनमा शिक्ष सेवाको विज्ञापन नम्बर १/०६१–६२ माध्यमिक तृतीय श्रेणीको शिक्षक पदको लेखा विषयको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिाका परीक्षणमा विशेषज्ञको रुपमा रिमालको संलग्नता रहेको पुष्टि भएको थियो ।
उक्त परीक्षामा उनका भाइ लेखनाथ प्रतिस्पर्धी रहेका थिए भने परीक्षा पास गरेर अन्तर्वार्ताका लागि समेत सिफारिसमा परेका थिए ।
परीक्षामा अनिमियतता गरेको आरोपमा अख्तियारले २०६३ साल कात्तिक १७ गते कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको थियो ।
अख्तियारले त्यतिबेला शिक्षक सेवा आयोगलाई ध्यानाकर्षण गर्दै पत्र पठाएको थियो भने अनुचित कार्य गरेको आरोपमा रिमाललाई पाँच वर्ष परीक्षा प्रक्रियामा संलग्न नगराउन प्रतिबन्धात्मक व्यवस्था गर्नु भनी पत्राचार गरेको थियो ।