गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिने तयारी छ : ऊर्जामन्त्री भुसाल

206

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छन् ।

बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, “गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई केही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु मैले ।”

ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिंचाइ पुर्याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिंचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत परेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् । सिंचाइको सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।

उनले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...