काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका २३ वटा मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको छ ।
मंगलबार विभिन्न मितिमा हराएका २३ मोटरसाइकल महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई बुझाएका हुन् ।
चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका रहेका छन् । कार्यक्रममा एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको बताए । उनले सवारी साधन चोरी घटनालाई न्यूनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।
गत आर्थिक वर्षमा मात्रै हराएका ४ सय १८ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको थियो भने चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।