दुईवटा मोटरसाइकलसहित चोरीमा संलग्न तीनजना पक्राउ

332

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा  मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखि निरन्तर सूचना संकलन र निगरानी पश्चात शनिबार साँझ  मोटरसाइकलसहित भक्तपुरबाट तीनै जनालाई पक्राउ गर्न सफल भएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा हराएको उक्त मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ वर्षीय विशेष लिम्बू पक्राउ परेका हुन् ।

वास्तबिक नम्बर बा९७प १३०५ भएको कालो, रातो रङको १५० सिसीको उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा९५प ४१६८ भएको अवस्थामा ट्राफिक टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा९६प ८८३६ नम्बरको कालो एनएस पल्सरको वास्तविक नम्बर परिवर्तन गरी बा९१प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषा मिथिलाका २१ वर्षीय विकल थापालाईसमेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाइकलसहित तीनै जनालाई थप अनुसन्धान एवम् कानुनी कारबाहीका लागि प्रहरी वृत्त थिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाईमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...