काठमाडौं । सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेशकी सांसद् विमला खत्री वली अस्पतालमा उपचार गराइरहेको पाइएको छ ।
दाङ जिल्ला प्रहरी कार्यालयकाअनुसार सांसद् वलीले घाँटीमा समस्या भएका कारण आफू नेपालगञ्जमा उपचाररत रहेको बताएकी हुन् ।
दाङ प्रहरीका प्रवक्ता मुकुन्दप्रासद रिजालले भने, “हाम्रा एसपी साप (सुरेश काफ्ले)ले फोन गर्दा उहाँले आफू अस्पतालमा उपचार गराइरहेको भनेर जानकारी गराउनुभएको छ ।”
यस्तै, शुक्रबार बिहानदेखि सम्पर्कविहीन रहेको भनिएकी वली बिरामी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले वलीसँग सम्पर्क नभए पनि परिवारसँगको सम्पर्कबाट उनी बिरामी रहेको र उपचारमा रहेको बतए । “उहाँसँग हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । तर, पारिवारिक स्रोतबाट बिरामी रहेको र उपचारमा रहनुभएको छ भन्ने जानकारी पाएका छौँ ,” सचेतक घर्तीमगरले भने ।
दाङ क्षेत्र नं. ३(ख) प्रदेश सांसद् उत्तर कुमार वली (बिमलाकी श्रीमान्)को निधनपछि उपनिर्वाचनमा उनी प्रदेशसभाका लागि निर्वाचित भएकी थिइन् ।
तत्कालीन नेकपाबाट निर्वाचित उनले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किँदा माओवादी रोजेकी थिइन् ।