म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ बादिकामा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडक अन्तर्गत बादिकाको भिरबाट खसेको हो ।
धवलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्किएको जिपबाट उछिट्टिएर भिरमा खसेका थिए ।
चालकसहित ८ जना सामान्य घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाटीमा चोट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।
सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किँदासम्म जिपभित्रै रहेका यात्रुहरु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।
स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक पौडेलले बताए ।