पाथेकाका वडा सदस्यसहित तीनजना पक्राउ

237

खोटाङ । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा अवैधरुपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्वानीयले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित ३ जनालाई सोमबार राति उनीहरुलाई घरैबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा परशुरामका छिमेकी ६९ वर्षीय मदन बहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वडा सदस्य परशुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक, मदन बहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुन १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...