काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्त प्रकरणबारे प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुरकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगे पनि हत्यारा अझै पत्ता लागेको छैन ।
यसै विषयमा शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवा र गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । प्रतिपक्षमा छँदा यी प्रश्न बोकेको सांग्रेसलाई सत्तारुढ बनेकाले अब समयले जबाफ माग्ने शर्माले उल्लेख गरेका छन् । “बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो । त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ,” शर्माले भनेका छन्,“निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔं ।”
२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडामा रहेका घरमा गएकी निर्मलाको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउको उखुबारीमा शव भेटिएको थियो । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै लगातार विरोध प्रदर्शन भइरहेको छ ।
२०७५ साल भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउनदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको ज्यान गएको थियो ।
बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l
प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l pic.twitter.com/fgEW6IExgd
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 25, 2021