क्याप्टेन विजय लामाको प्रश्न : देश ठूलाबडा र धनीमानीका लागि मात्रै हो ?

444

काठमाडौं । नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुःख, पीडा अरु कुनै पनि उडानमा नहुने अनुभव व्यक्त गरेका छन् । “मनमा धेरै दुःख लाग्दा लाग्दै पनि बाध्य छौँ ल्याउनलाई,” उनले भने,“देशको स्थितिनै यस्तै छ । धनी र ठूला बडाहरुलाई मात्र हो त यो देश कि सबैलाई हो ?”

आज मलेसियाबाट नेपाल एयरलाइन्स (एयरबस–३३०) जहाजमार्फत नेपाली युवाको २४ वडा शव र तीनवटा अस्तु नेपाल ल्याइ पुर्याएपछि क्याप्टेन लामाले फेसबुकमार्फत यस्तो उडान निकै पीडादायक हुने उल्लेख गरेका छन् ।

जुलाई १७ मा १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानु पर्नेछ भन्दै लामाले यस्तो संख्या सरकारका लागि तथ्याङ्कमा मात्रै सीमित भए पनि मृतक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गरेका छन् ।

“रोजगारीको क्रममा कोभिड–१९ बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौँ हामिले । अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे,” लामाले लेखेका छन्,“विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुःख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न । तथ्यांकमा मात्र सीमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ ।”

यस्तै, उनले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गरेका छन् ।

उनले देशलाई बर्बाद पार्दै नेपाली दाजुभाइ दिदीबहिनीलाई विदेश जान बाध्य पारेकोमा राजनीतिक नेतृत्वसँग आक्रोस पोखेका छन् । “अब पनि पुगेन देशलाई बर्बाद पार्दै नेपाली जनतालाइ विदेश जान बाध्य बनाउने गरी एक आपसमा झगडा गर्न ? यति देखे पछि त केही गर्नु नि देश र जनताका लागि । आफ्नो अनि पार्टीको स्वार्थभन्दा माथि उठ्न सकिन्न र ?”

तस्बिरः विजय लामा/सामािजक सञ्जाल

Share This:
सम्बन्धित खबर
Loading...