काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आजै विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका कांग्रेस सभापति एवम् संसदीय दलको नेता देउवाले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि आजै लिने तयारी गरेका हुन् ।
उनले विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ संसद्मध्ये १ सय ३६ जनाको समर्थन आवश्यक पर्छ ।
त्यसका लागि नेपाली कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउने छन् । कांग्रेसका दुईजना सांसद् निलम्बित छन् ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)का ५३ संसद्मध्ये ४ जना बर्खास्तामा परेका छन् । स्वतन्त्ररुपमा जितेका सांसद् छक्क बहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउने छन् ।
जनता समाजवादी पार्टी (जसपा)का १२ जानले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसद्ले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।
नेपाल समूहमा रहेको २३ संसद्मध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेको एक सांसद्ले जानकारी दिए ।
नेपाल समूहले मतदान नगरे देउवाले विश्वासको मत प्राप्त गर्ने छैनन् ।