काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितको नेताहरुले शनिबार भेट गरेका छन् ।
ओली निवास बालकोटमा झान्डै डेढ घन्टा वार्ता भएको छ । बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट मात्र भएको छलफलमा सहभागी जसपाका नेता शरतसिंह भण्डारीले बताए ।
भेटमा ओलीले प्रधानमन्त्रीबाट बाहिरिएपछि आफूले ‘रिल्याक्स’ महसुस गरेको बताएको भण्डारीले बताए । “उहाँले प्रधानमन्त्रीबाट बाहिरिएपछि ठिकै भयो, आनन्द भयो, रेस्ट अनि रिल्याक्सपनि भयो भन्नुभयो” ओलीलाई उदृत गर्दै भण्डारीले भने ।
जसपाका अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट गएका थिए ।
अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद् अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल भएको छ ।