प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै, आजै शपथग्रहण

475

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदै छ ।

जसका लागि जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहले राजीनामा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपालका अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् । खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् ।

शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र सांसद् रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलिपकुमार साहले जानकारी दिए ।

संसदीय दलका नेता साह महोत्तरी–१ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् भने सप्तरीकी कर्ण समानुपातिक सांसद् हुन् । आजै दिउँसो ३ बजे शपथग्रहणको समय तोकिएको छ ।

जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई नेपाली कांग्रेसलाई ३ मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...