वेष्ट इन्डिजद्वारा टी–२० सिरिज ४–१ ले कब्जा

272

काठमाडौं । वेष्ट इन्डिजले अष्ट्रेलियासँगको टी–२० सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको छ । शनिबार भएको पाँचौँ खेलमा अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो ।

वेष्ट इन्डिजले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ८३ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाका ओपनर जोस फिलिप शून्य रनमा आउट भए । अष्ट्रेलियाका आरोन फिन्च र मिलेच मार्शले दोस्रो विकेटका लागि सम्हालिएर खेल्दै टोलीको स्कोर ४६ रनसम्म पुर्याए । आउट हुनअघि फिन्चले ३४ र मार्शले ३० रन बनाएका थिए ।

यस्तै, म्याथू वेडले २६, मोसेस हेनरिक्सले २१, एन्ड्रयु ताइले १५ तथा मिचेल स्वेपसनले अविजित १४ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

वेष्ट इन्डिजका शेल्डोन कोट्रेल र आन्द्रे रसेलले समान ३–३ विकेट लिए ।

यसअघि डेरेन सामी नेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली वेष्ट इन्डिजले १ सय ९९ रन बनाएको थियो ।

वेष्ट इन्डिजका इविन लेविसले ७९, निकोलस पूरनले ३१ तथा क्रिस गेल र लेन्डल सिमोन्सले समान २१–२१ रनको पारी खेले ।

जितसँगै वेष्ट इन्डिजले ५ खेलको टी–२० सिरिजमा ४–१ ले कब्जा जमाएको छ । यसअघि भएको पहिलो, दोस्रो र तेस्रो खेलमा वेष्ट इन्डिजले क्रमशः १८ रन, ५६ रन र ६ विकेटले विजयी भएको थियो भने चौथो खेलमा अष्ट्रेलियाले ४ रनका सान्त्वना जित हासिल गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...