सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधका कारण आइतबार पनि कर्णाली प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्नेलगायतका माग राखेर एमालेले आइतबारको संसद् बैठक अवरुद्ध गरेको हो ।
यसअघि पनि एमालेले निरन्तर बैठक अवरुद्ध पार्दै आएपनि सहमतिको ठोस प्रयास सुरु हुन सकेको छैन । आइतबारको बैठकमा पनि एमालेका सांसद्हरुले सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउदै विरोध गरेका थिए ।
बैठकको सुरुमै एमाले सांसद् पदम रोकायले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण निरन्तर सदन अवरुद्ध गर्नुपरेको बताए । उनले सरकारले आफ्ना गल्ति नसच्चाएसम्म सदनको कारबाही अघि बढ्न नसकने बताए ।
सांसद रोकायले बोलेपछि पनि एमाले सांसद्ले उठेर विरोध जनाएपछिसभामुख राजबहादुर शाहीले यही असार २९ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरे ।
माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।
फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो । यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् ।