सन् २०२१ भित्र सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने प्रधानमन्त्रीको घोषणा

408

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९विरुद्ध लगाइने खोपको अभावमा नागरिक तड्पनिु नपर्ने स्पष्ट पारेका छन् ।

नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरी सरकारले पहलकदमी अघि बढाएको बताएका हुन् । उनले जनताको जीवनरक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको स्पष्ट पारे ।

“भ्याक्सिन उपलब्ध गराएका छौँ । भ्याक्सिन आइरहेको छ । हिजो आयो, भोलि पनि आउँछ । त्यसपछि पनि आउँछ । जतिसक्दो चाँडो ठूलो संख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँ–नयाँ सम्झौताका लागि प्रयास भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने । उनले यस वर्षको अन्तिम (सन् २०२१)भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गरे । “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो । अब नपाउने स्थिति हामी कहाँ छैन । सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ,” उनले भने ।

उनले सबैलाई खोप लगाएर सुरक्षित राख्ने प्रयासमा सरकार लागेको भएपनि विश्वभर कोभिड अन्त्य नभएसम्म सबैलाई सजगता अपनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालमा नयाँ सफलता हासिल गरेको भन्दै पूर्ण क्षमतामा अबिलम्ब सञ्चालन गर्न निर्देशन दिए । अस्पतालका लागि आवश्यक दरबन्दी पनि वृद्धि गरिएको र आवश्यकता अनुसार अत्यावश्यक सामानलगायत मानवीय जनशक्तिको व्यवस्था सरकारले गर्ने प्रतिवद्धता जनाउँदै उनले बिरामीलाई गुनासोरहित सेवा प्रदान गर्न पनि सचेत गराए । प्रधानमन्त्री ओलीले अनावश्यकरुपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराए ।

Share This:
सम्बन्धित खबर
Loading...