काठमाडौं । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषकी क्षीतेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइ टोलकी ३० वर्षीया बेगम खातुन घर फर्किएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सबै उपचार खर्च बेहोर्दै शुक्रबार नै उनलाई डिस्चार्ज गराएकी हुन् ।
उपचार खर्च तिर्न नसकेर खातुन चार दिनदेखि बन्धक बन्नु परेको थियो । ब्याथा लागेपछि यही असार १७ गते खातुन अस्पतालमा भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो । तर, उपचार खर्चबापत रु १ लाख १० हजार बुझाउन नसक्दा उनी ४ दिनदेखि बन्धक बन्नु परेको थियो ।
प्रधानमन्त्री पत्नी शाक्यले बिहीबार नै प्रहरीको सहयोगमा अस्पतालको सबै उपचार खर्च आफूले बेहोर्ने जानकारी गराइ खातुन र बच्चालाई मुक्त गराएकी हुन् ।
यसअघि उपचार खर्च तिर्न नसकेको भन्दै अस्पताल प्रशासनले खातुनलाई जनरल वार्डमा राखेर घर जानबाट बञ्चित गरेको थियो ।
खातुनले अस्पताललाई तिर्नुपर्ने रकम व्यवस्था गर्न नसकेको र सुत्केरी अस्पतालमै बन्धक बनेको समाचार पढेपछि शाक्यले उनको सबै उपचार खर्च बेहोर्ने बताएकी हुन् । शाक्यले भोलिसम्ममा अस्पतालको रकम जम्मा गरिदिने बताएकी छन् ।