प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

410

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् ।

बाढीबाट क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रधानमन्त्री बिहान १० बजे सिन्धुपाल्चोक जानेछन् ।

प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्रलगायतका विभिन्न स्थानको हवाई निरीक्षण गर्नेछन् ।

हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, दलका नेताहरु र बाढी पहिरो पीडितहरुसँग प्रधानमन्त्री ओलीले केहीबेर अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागि हुनेछन् । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउनेछन् । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्थाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति पुर्याएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...