काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेपाल आयल निगमसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
निषेधाज्ञाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै निगमसमक्ष ७ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । फिर्ता नलिए कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।
उनीहरुले ठूलो नाफा आर्जन गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने बित्तिकै त्यसैको बहानामा मूल्यवृद्धि गर्नु पूर्णतः गलत भएको पनि बताएका छन् ।
उनीहरुले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण गर्दै अनावश्यक खर्च कटौती गरियोस् र मुल्यवृद्धि नियन्त्रण गर्न पनि निगमको ध्यानाकर्षण गराएका छन् ।
ज्ञापन पत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरुको माग सुन्न निगम तयार नभएको आरोप लगाए । उनले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि अप्राकृतिक भएको बताए ।
पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १ सय २९ रुपैयाँ पुगेको छ । डिजेल÷मटितेलको मूल्य १ सय १२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १ हजार ४ सय २५ रुपैयाँ कायम गरेको छ ।