जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएका छ । बुधबार दिउँसो बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।
“असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ,” सूचनामा भनिएको छ । बैठक स्थगित गरिएको सूचना सांसद्हरुलाई एसएमएसमार्फत पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आज बस्ने बैठक प्रदेशसभा सरकारको विकास निर्माण र अन्य खर्च भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले स्थगित गर्नु परेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
स्रोतका अनुसार बैठक स्थगित गर्नुको अर्को कारण सांसद्हरुले संसद् क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमति जुट्न नसक्नु पनि हो ।
प्रतिपक्षी मात्र नभएर सत्तापक्षकै सांसद्हरुले पनि प्रत्यक्ष निर्वाचित सांसद्लाई ५ करोड र समानुपातिक सांसद्लाई अढाई करोड बजेट दिनुपर्ने माग गरेका छन् ।