काठमाडौं । नेकपा (एमाले) विवाद समाधान गर्न बनेको कार्यदलले समस्या समाधानको दिशामा अघि बढ्ने सहमति गरेको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसकेको बैठकले छलफलमा उठेका विषय तत्काल टुंगा नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमति भएको एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदल संयोजक डा.भीम रावलले जनाकारी दिए ।
“छलफलमा उठेका विषयमा तुरुन्तै टुंगो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ,” रावलले भने ।
बैठक बुधबार बिहान साढे ८ बजे फेरि बस्ने छ ।
बैठकमा सहभागि अर्का एक नेताले भने,“आजपनि पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो । विभिन्न विषयमा रहेका असहमतिमाथि खुलारुपमा छलफल भयो । तर, कुनै निर्णय भएन ।”
गत जेठ २ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो ।
यहीँ बीचमा नेताहरुमाथि कारबाही प्रक्रिया सुरु भएपछि कार्यदल निष्कृय भएको थियो । तर, गत आइतबार अध्यक्ष ओली र उपाध्यक्ष रावलबीचको भेटवार्तापछि कार्यदल ब्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा. भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।