प्रदेश १ को प्रदेशसभा बैठक सुचारू, मन्त्रीको मन्तव्य रेकर्डबाट हटाइने

362

विराटनगर । नेकपा (माओवादी केन्द्र)को अवरोधका कारण लगातार अवरुद्ध हुँदै अएको प्रदेश नम्बर १ प्रदेशसभा बैठक आजदेखि सुचारु भएको छ ।

मंगलबारको बैठकमा माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीले सांसदमाथि लान्छित गरेर बोलेको रेकर्ड हटाइने जानकारी दिएपछि बैठक सुचारु भएको हो ।

प्रदेशसभाको १२औँ बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै मन्तव्य दिएका थिए ।

त्यसपछि माओवादी केन्द्रले मन्त्रीले आफ्नो बोली फिर्ता लिँदै माफी माग्नु पर्ने र संसद्को रेकर्डबाट भाषण हटाउनु पर्ने माग गर्दै आएको थियो । बैठकमा सभामुख भण्डारीले प्रदेशसभामा मर्यादित भाषा प्रयोग गराउन सचेत पनि गराए ।

संसद् बैठक बस्नुअघि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । त्यसलगत्तै दलका नेताहरुबीच भएको छलफलले सदन सुचारु गराउने सहमति भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...