हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ । विपक्षी दलहरुको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो ।
बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसद् उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेललाई बोल्न समय दिएका थिए ।
जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गरेका थिए । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरेपनि सांसद्हरुले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
बजेट विनियोजन असन्तुलित भएको भन्दै नेकपा माओवादी, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले शनिबार पनि संसद् अवरुद्ध गरेका थिए ।
आइतबार पनि बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति नजुट्दा बैठक बस्दै नबसी स्थगित भएको थियो ।