संसदीय दलका नेता कँडेन भन्छन्– एउटै दल सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहन सक्दैन

198

कर्णाली । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले सदनमा एउटै दल सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहन नसक्ने बताएका छन् ।

शुक्रबार प्रदेशसभास्थित दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीमा आफ्नो पार्टीलाई सत्तापक्ष बनाउन खोजिएकामा आपत्ति जनाएका हुन् ।

नेता कँडेलले दलको सहमति बेगर दलको सदस्यलाई सहभागी गराएर सरकार बनाउने संवैधानिक प्रावधान नै नभएको जिकिर गरे । “माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार संविधानको धारा १६८(२) बमोजिम बनेको सरकार हो । उक्त धारामा व्यक्तिलाई लिएर सरकार बनाउने कुनै दललाई अधिकार छैन,” उनले भने,“संविधानको मूल मर्म, लोकतान्त्रिक मूल्य मान्यता र संसदीय परम्पराविपरीत सरकारले नै प्रदेशसभामा समस्या सिर्जना गर्न खोजिरहेको छ । जुन प्रयास एमालेलाई किमार्थ स्वीकार्य हुँदैन ।”

सरकारले तत्काल आफ्नो दलका तीन सदस्यलाई मन्त्रीबाट बर्खास्त नगरे प्रदेशसभा बैठक चल्न नसक्ने जनाउँदै उनले भने,“एमालेका कारण प्रदेशसभा बैठक अवरुद्ध भएको होइन, सरकार नै बजेटमाथि छलफल चलाउने पक्षमा देखिएको छैन ।”

हाल सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरमन्त्री नन्दसिंह बुढा छन् ।

उनीहरुलाई लगातार दलको बैठकमा अनुपस्थित भएको, सरकारबाट फिर्ता हुन दिएको निर्देशनको पालना नगरेको भन्दै एमाले संसदीय दलले एक महिनासम्मका लागि प्रदेशसभा सदस्य पदबाट निलम्बन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...