वेष्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

252

काठमाडौं । वेष्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकन टोलीले तेस्रो टी–२० मा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । गएराति भएको खेलमा वेष्ट इन्डिजलाई हराएको दक्षिण अफ्रिकाले पाँच खेलको टी–२० सिरिजमा २–१को अग्रता बनाएको छ ।

ग्रानडास्थित नेसनल क्रिकेट स्टेडियममा १ सय ६८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १ सय ६६ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । तर, वेष्ट इन्डिजका फाबियन एलेनले १३ रन मात्र जोड्न सक्यो ।

पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका एविन लुइसले २७ तथा लेन्डल सिमोन्सले २२ रन बनाए । यस्तै, निकोलास पूरनले २७, आन्द्र रसेलले २५, शिम्रोन हिट्मेयरले १७, ज्यासन होल्डरले १६ तथा एलेनले नटआउट १४ रनको पारी खेले ।

दक्षिण अफ्रिकाका बलरले १७ रन अतिरिक्त दिएका थिए ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका क्वुइन्टन डि ककले सर्वाधिक ७२ रनको अर्धशतकीय पारी खेले । ५१ बलको सामना गरेका डि ककले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै, रस्सी भान डेर डसनले ३२, एडिन मार्क्रामले २३ रनको योगदान दिए ।

वेष्ट इन्डिजका ओबेद म्याक्वेले ४ तथा ड्वेन ब्राबोले ३ विकेट हात पारे ।

जितसँगै दक्षिणा अफ्रिकाले ५ खेलको टी–२० सिरिजमा २–१ को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा वेष्ट इन्डिज ८ विकेट तथा दोस्रो खेलमा दक्षिण अफ्रिका १६ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...