काठमाडौं । नेकपा (एमाले)मा प्रवेश गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका दुई नगरपालिका प्रमुखलाई सर्वोच्च अदालतले पुनःवहाली गरेको छ ।
रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा (माओवादी केन्द्र) छाडेर अर्को दल गठन गरेको वा दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै पदमा पुनःवहाली गरिदिएको छ ।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्यानीय कार्यपालिकाको प्रमुखहरु भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा नगरपालिका प्रमुख र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । उक्त पत्रका आधारमा आयोगले असार ११ गते उनीहरु पदमुक्त भएको सूचना निकालेको थियो ।