सरकारले किसानलाई बेरोजगार र घरबारबिहीन बनाउँदै छ : वामदेव गौतम

382

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले वर्तामान सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।

धान दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता गौतमले वर्तमान सरकारले भूमि बैंक र करार खेतीजस्ता प्रणाली ल्याएर कृषि क्षेत्र भताभुंग बनाउने काम गरेको दाबी गरेका हुन् ।

सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐन अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन लागेको आरोप लगाए ।

“हामीले भन्दै आएका थियौँ, नेपालको कृषि क्षेत्र (प्राथमिक उत्पादको क्षेत्र)मा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनुहुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुंग हुन्छन्,” गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“तर, वर्तमान सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकुल बनाइदिएको छ । यो कार्यले नेपाली किसानलाई पूर्णतः बेरोजगार र घरबारविहीन बनाउने छ ।”

नेता गौतमले आफूहरुले धेरै वर्षअघिदेखि भूमि बैंकको विरोध गर्दै आएको बताए । “भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरुको अगाडि सारेको एजेन्डा हुन् । इन्डोनेसिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,” गौतमले भने ।

यसैगरी, गौतमले सरकारले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करारी खेती ल्याएको उल्लेख गरेका छन् । “यही सरकारले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउने काम गरेको छ । करार खेती भनेको एक किसिमको कर्पोरेट मोडलको कृषि कार्य हो । जहाँ व्यापारिक कम्पनीहरु हाबी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन् । भारतदेखि युरोपेली मुलुकका किसानहरु यस्तो खेती प्रणालीबाट प्रताडित छन् । कतिपय मुलुकका किसान यस्तो खेती प्रणालीविरुद्ध आन्दोलित छन्,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...