कर्णालीमा एमालेका ३ जना सांसद् फेरि निलम्बनमा

451

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनःवहाली भएका कर्णालीका ३ जना प्रदेश सांसद् फेरि निलम्बनमा परेका छन् ।

माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका सांसद्लाई एमाले कर्णाली प्रदेश संसदीय दलले निलम्बनको निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले निर्णय गरेअनुसार भौतिक पूर्वाधार विकासमन्त्री अम्मर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई निलम्बन गरेको जानकारी गराएको छ ।

कर्णाली प्रदेशसभाका सचिवालयका सचिव जीवनराज बुढाथोकीले सूचना सार्वजनिक गर्दै उनीहरुलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

“नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकको निर्णयअनुसार माननीय अम्मर बहादुर थापा, माननीय कुर्मराज शाही, माननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।

यसअघि पनि सांसद् प्रकाश ज्वालासहित उनीहरुलाई सांसदबाट निलम्बन गरिएको थियो । सर्वोच्चले पुनःवहाली गरेपछि कर्णाली प्रदेश सरकारमा मन्त्री बनेका ३ नेतालाई फेरि निलम्बनको निर्णय गरिएको हो । यो पटक ज्वाला भने निलम्बनमा परेका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...