सिन्धुपाल्चोकमा विपद् व्यवस्थापन र राहतकाे कामलाई प्रभावकारीरूपमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

433

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारीरुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

जिल्लामा हालैको बाढीपहिरोले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेश कमिटीको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उनले भने,“यस कुरामा कसैले राजनीति गर्नुुहुन्न, मानवीय हिसावमै जानुपर्छ ।” पुल बगाएको स्थानमा बेलिब्रिजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताए । साथै, उनले बाढीको पूर्वसूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवम् स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले सरकारले अस्थायी घर बनाउन सहयोग गर्ने, खानेपानी, बिजुली र टेलिफोन तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन समेत दिए । साथै बाटो पुनः सञ्चालन गर्न पुल निर्माण, झोलुङ्गे पुल निर्माण गर्ने बाढीको सूचना थाहा पाउने गरी साइरन जडान गर्न समेत उनले निर्देशन दिएको नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।

उनले सो अवसरमा बाढीपहिरो प्रभावित स्थानका मानिसले भोगिरहेको समस्यालाई यथाशीघ्र सम्बोधन गरी मृतक परिवारलाई क्षतिपूर्ति, राहत र विस्थापित ४ सय परिवारलाई राहत तथा पुनःस्थापना, नदी नियन्त्रण, बिग्रेभत्केका संरचना (खानेपानी, विद्युत्, सडक, पुल)को तत्काल पुनःनिर्माण गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो भने ४ सय परिवार विस्थापित, ३ सय ३७ घर र ६० गोठ, ६ मोटरेवल पुल तथा १३ झोलुङ्गे पुल बगाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...