काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बाट पूर्वराजालाई गुहार्ने काम पनि पूरा भएको बताएका छन् ।
मुख्यमन्त्री पोखरलले सामाजिक सञ्जालमार्फत् राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्यो काम बिहीबार प्रचण्डले पूरा गरेको उनले टिप्पणी गरे ।
बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भनेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा त राजा नै ठीक रहेको बताउँदै भनेका थिए,‘कमसेकम राजाको सान त थियो ।’ प्रचण्डको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?”