देउवाले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गैरजिम्मेवार काम भइरहेका छन्’

181

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गैरजिम्मेवार काम भइरहेको आरोप लगाएका छन् ।

बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादहरुसँगको अन्तरक्रियामा सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधिसभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताएका हुन् ।

“प्रतिनिधिसभाका बहुमत १ सय ४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेस गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ,” देउवाले भने ।

संविधान सभाले निर्माण गरी जारी गरिएको नेपालको संविधान आज प्रधानमन्त्री ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा रहेको उनको आरोप छ । सभापति देउवाले भने,“असंवैधानिकरुपमा दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत् शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने काम प्रधानमन्त्रीबाट भएका छन् ।”

यस्तै, देउवाले महामारीबाट नागरिकलाई सुरक्षित तुल्याउनका लागि जिम्मेवारीपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुमा दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्वतयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...