काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन अपील गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै नेता नेपालले मंगलबार सामाजिक सञ्जालमार्फत् यस्तो अपील गरेका हुन् । “संसदमा झन्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो,” उनले लेखेका छन्, “तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन्।”
सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक–पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा नपुर्याउने र यसले राम्रो परिणाम नदिने उनको निष्कर्ष छ ।
“हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौँ र छौँ । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौँ साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ,” नेपालले भने ।