अर्को वर्ष योग दिवसमा खुला स्थानमा मास्कबिनै आउन सक्ने वातावरण निर्माण गरिनेछ : प्रधानमन्त्री ओली

467

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्नुपर्ने बताएका छन् ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले अधःपतनको संकेत गरेको भन्दै सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्नुपर्ने बताएका हुन् ।

उनले योग गुरुहरुलाई आफ्ना योगाभ्यास विधिमा आवश्यक परिमार्जन गरी हरेक व्यक्तिलाई सत्य निष्ठाप्रति संकल्पित गराउन आग्रह गर्दै भने, “योग कुनै अन्धविश्वास होइन, यो मनको सफाइको माध्यम हो, यो एक अनुशासन पनि हो । योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनु हुँदैन ।”

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोप लगाएर आगामी वर्षको योग दिवसलाई खुल्ला स्थानमा मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिने बताए । उनले प्राचीन ऋषिमुनिहरुको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको पनि उल्लेख गरे । आफ्नो वैधानिक र न्यायिक दाबी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उनको थियो ।

अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको उनले बताए । प्रधानमन्त्री ओलीले योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...