काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाएका छन् ।
शुक्रबार जुममार्फत् आयोजित ‘कोभिडविरुद्ध हाम्रो अभियान संवाद श्रृंखला’लाई सम्बोधन गर्दै थापाले गत पुस महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने बताए ।
थापाले भने,“संसद् चलेको भए संसद्ले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न बाध्य हुन्थ्यो । तर, सरकारले त्यो अवसर पनि गुमायो ।” पूर्वमन्त्री थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि बताए । “अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थनन्त्र चलयमान हुन्थ्यो र खोप किन्ने खर्च ४०–५० अर्ब रुपैयाँ उठिसक्थ्यो,” उनले भने,“नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति ब्यहोर्नु परेको छ ।”
आफू स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ–फागुनमा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौँ नेपाली नागरिकको ज्यान गएको बताए ।
उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीँ नभएको दाबी गरे । “महामारीमा सबैभन्दा महत्वपूर्ण कुरा समय हो । चीन र भारतमा कोरोना महामारी फैलिएको ३०–३५ दिनपछि नेपालमा कोरोना‘केस’ देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन,” उनले भने ।