काठमाडौं । तामाकोसी नदीमा मिसिने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार रातिदेखि चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो गएपछि रोङ्सी खोला थुनिएको छ ।
शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
“चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ,” प्रजिअ अधिकारीले भने ।
उक्त खोला तामाकोसी नदीमा आएर मिसिन्छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोसी दोभान छ ।
पहिरो खुलाउने क्रम जारी रहँदा प्रशासनले स्थानीयलाई सचेत हुन अपिल गरेको छ ।
नेपालतिरबाट खोला थुनिएको ठाउँमा जान सम्भव नभएकाले चीनको टोली परिचालन भएको हो । कुनैपनि बेला थुनिएको खोला फुट्न खतरा भएका कारण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामबाट पानी छाडिएको छ ।