काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमका कारण सरकारले घोषणा गरेको निर्वाचन नरोकिने दाबी गरेका छन् ।
संसद् विघटबारे सर्वोच्च अदालतमा लिखित जबाफ पेस गर्दै प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन समयमै हुने दाबी गरेका हुन् ।
सरकारले संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन र खोपको व्यवस्था गर्न सबै किसिमका प्रकिया र कारबाही अघि बढाइसकेको ओलीको दाबी छ ।
“सरकारले संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन, खोपको व्यवस्था गर्न सबै किसिमका प्रक्रिया र कारबाही अघि बढाइसकेको छ । सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता गरी आवश्यक खोप खरिद प्रक्रिया सुरु भइसकेको छ । कोभिड–१९ को संक्रमणकै बीचमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ,” जबाफमा भनिएको छ, “नेकपा (माओवादी केन्द्र)ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरेको छ‚ ती स्थानहरुमा उपनिर्वाचन गर्नैपर्ने हुन्छ ।”
आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्नैपर्ने र नेपाली कांग्रेसका शेर बहादुर देउवाले यहीँ भदौ महिनामा आफ्नो पार्टी कांग्रेसको महाधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशित गरिसकेकाले मध्यावधि चुनाव रोकिन्छ भन्नु गलत भएको जिकीर ओलीले गरेका छन् ।
“देशभरका नेता कार्यकर्ता सहभागी हुने महाधिवेशन हुनसक्ने तर चरणबद्धरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन हुन नसक्ने दावी हचुवा र आधारहीन छ,” ओलीले जबाफमा उल्लेख गरेका छन् ।