युरो २०२० : जर्मनी फ्रान्ससँग स्तब्ध

204

काठमाडौं । युरो कप २०२० अन्तर्गत फ्रान्सले जर्मनीलाई पराजित गरेको छ । प्रतियोगिताको ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’को खेलमा जर्मनीलाई फ्रान्सले उसकै घरेलु मैदानमा १–०ले स्तब्ध बनाएको हो ।

फ्रान्सको जितमा जर्मनीका डिफेन्डर माट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।

खेलको २०औँ मिनेटमा माट्सले पोस्टमा आएको बललाई लेफ्ट साइटबाट बचाउ गर्न खोज्दा बल गोलमा परिणत भएको थियो ।

अर्कोतर्फ जर्मनीले २ मिनेट नबित्दै स्कोर बराबरी गर्ने अवसर गुमायो । रोबिन गोसेन्सको क्रसमा थोमस मुलरको प्रहारले पोस्टको दिशा लिन सकेन ।

जितसँगै फ्रान्सले ३ अंक जोडेको छ । पोर्चुगलसँग समान ३ अंक भएपनि गोल अन्तरका आधारमा फ्रान्स दोस्रो स्थान छ । पोर्चुगल समूह एफको शीर्ष स्थानमा छ ।

समूह एफको पहिलो खेलमा पोर्चुगलले हंगेरीमाथि ३–० गोलको जित हात पारेको थियो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा राफाएल गुरेरोले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको पोर्चुगलका लागि तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ८४औँ मिनेटमा राफाएल गुरेरोले गोल गर्दै अग्रता लियो । त्यसको २ मिनेटपछि पोर्चुगलले पेनाल्टी पायो । रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै २–० को अग्रता दिलाए ।

अतिरिक्त समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्राे गोल गरेपछि ३–०ले खेल आफ्नो पक्षमा पार्यो ।

Share This:
सम्बन्धित खबर
Loading...