काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई सरकारी पदाधिकारीले अनुचित दवाव दिएकोमा असन्तुष्टि प्रकट गर्दै विभिन्न विश्वविद्यालयका १२ जना पूर्वउपकुलपतिहरुले सरकारलाई विधि मिचेर काम नगर्न सुझाव दिएका छन् ।
पूर्वउपकुलपतिहरुले मंगलबार जारी गरेको विज्ञप्तिमा पदीय मर्यादा र विश्वविद्यालयको स्वयत्तताको सम्मान गर्न पनि आग्रह गरिएको छ ।
प्रधानमन्त्रीको गृह जिल्ला झापाको बिएन्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन स्वयम् प्रधानमन्त्री र शिक्षामन्त्रीले चिकित्सा शिक्षा आयोगकका उपाध्यक्षलाई दवाव दिनुलाई विज्ञप्तिमा ‘दुर्भाग्य’ भनिएको छ ।
पूर्वउपकुलपतिहरुले विज्ञप्तिमा “काठमाडौं विश्वविद्यालयले चिकित्साशिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेको ‘हेक्का दिलाउँदै’ पूर्वाधार नै नपुगेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्साशिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एवम् कानुनी राजको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिएको” आरोप सरकारलाई लगाएका छन् ।
पूर्वउपकुलपतिहरु महेश कुमार उपाध्याय, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलासनाथ प्याकुरेल, महेश्वरमान कार्की, जयराज अवस्थी, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, तोरण बहादुर कार्की, खगेन्द्र भट्टराई, हिरा बहादुर महर्जन तथा नरेशमान बज्राचार्य रहेका छन् ।