काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।
सोमबार काठमाडौंको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।
उनले निगममा देखिएको कमी कमजोरी सच्चाउन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी दिए । निगमसँग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदाहुँदैपनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले विगत एक वर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ट कारण खोजिने उल्लेख गरे ।
कोरोनाले हवाई सेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुखमात्र नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए ।
त्यस्तै, मन्त्री अरगरियाले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए । उनले बिगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजारहिस्सामा स्वमित्व जमाउन आक्रमण ढंगले लाग्न पनि निर्देशन दिए ।
सो क्रममा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए ।
कोरोनाको दोश्रो संक्रमणका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको जिकीर जनाएको छ ।